काठमाडौ, ७ कार्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । आज बसेको बैठकमा सभामुख ओनसरी घर्तीले संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथिको छलफल अब मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकमा मात्रै छलफल गरीने जानकारी दिइन् । सभामुख घर्तीले आगामी बैठक मंगलबार तीनबजे बस्ने संसदलाई जानकारी गराउनुभएको थियो ।
संसद बैठकमा महाअभियोग प्रस्तावमा सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइन्छ । ११ सदस्यीय समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।
यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।
सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
यसैबिच—उपप्रधान तथा परराष्ट्रमन्त्रि प्रकाश शरण महतले जीवाणु जन्य(जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तीनलाई नष्ट गर्ने सम्बन्धी महासन्धीमाथि राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्रि महतले संसदमा छलफल र अनुमोदन गरियोस भनि प्रस्ताव पेस गर्नुभएको थियो । बैठकले उपप्रधान तथा परराष्ट्रमन्त्रि महतले पेस गरेको महासन्धी बहुमतले पारित भएको छ ।