काठमाडौ ६ कार्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गराएर छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिन पुगेका संयुक्त विद्यार्थी संगठनसँगको भेटमा ओलीले यस्तो बताउनु भएको छ ।
अध्यक्ष ओलीले संसद्को ब्याकगियर नभएकाले महअभियोग पारित हुने दाबी गर्नुभयो । महाअभियोगको प्रस्ताव कुनै पार्टी विशेषकाले भन्दा पनि सांसदले गरेकाले यो पारित हुने ओलीको भनाई छ ।
यसैबीच विभिन्न विद्यार्थी संगठनले अख्तियार प्रमुख कार्कीलाई कारबाही नहुँदासम्म दवाव मुलक कार्यक्रम जारी राख्ने जनाएको छ ।
लोकतन्त्र जोगाउन कार्की बिरुद्धको प्रस्ताव जुनसुकै हालतमा पारित गराउन शीर्ष नेताहरुलाई दवाव दिने एमाले निकट अनेराश्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनले अन्य बिभिन्न दलका शीर्ष नेतालाई भेटी दुईतिहाइ मतका साथ प्रस्ताव पारितका लागि वातावरण बनाउन ज्ञापन पत्र बुझाउने तयारी पनि छ ।