गोरखा ,६ कार्तिक ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन बाह्य शत्ति लागिपरेको दाबी गर्नुभएको छ ।
गोरखा नगरपालिकाको छेवेटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लोकमान प्रकरणमा देशभित्रका शक्तिले बाह्य शक्तिलाई तानेर अख्तियार प्रमुख कार्कीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनु भयो ।
लोकमानले आफ्नो पदयी मर्यादालाई भुलेर मनोमानी गरेको भन्दै उहाले महाअभियोग लगाउनु स्वाभाविक भएको तर्क गर्नुभयो ।
लोकमानलाई संसद्बाटै कारबाही गर्नुपर्नेमा जोड दिँदै भट्टराईले संसदबाट महाअभियोग लगाउन नसके दलहरुको लाचारीपन देखिने दाबी गर्नुभयो ।
लोकमान प्रतिनिधि पात्र मात्रै भएको चर्चा गर्दै भट्टराईले यस्तै प्रवृत्ति दोहोरिन नदिन देशमा लोकपाल आवश्यक रहेको औल्याउदै भन्नुभयो , ‘त्यो लोकपाल स्वायत्त र अधिकार सम्पन्न हुनुपर्छ ।’
संवैधानिक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया संसदले गर्नुपर्नेमा सुझाव दिदै ‘लोकपालका लागि संवैधानिक निकायका प्रमुख संसद्बाट नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो ।
संवैधानिक निकायका प्रमुखहरु संसदबाट नियुक्त हुने व्यवस्था भएपछि मात्र देश र जनताप्रति उनीहरु समर्पित हुने भट्टराईको भनाई छ । अहिले संवैधानिक आयोगहरुमा दलहरुका मान्छे नियुक्त हुने प्रचलनले लोकमान प्रवृत्ति जन्मने गरेको उहाले बताउनु भयो ।
फरक प्रसंगमा भट्टराईले पूराना शक्तिहरुबाट परिवर्तनका एजेण्डा उल्ट्याउने प्रयास भइरहेको बताउनुभयो ।
अहिले धार्मिक कुरा उचाल्ने काम भएको छ तर नेपाल हिन्दू्राज्य हुन सक्दैन भट्टराईले भन्नुभयो , परिवर्तनको एजेण्डाबाट पछाडि फर्केमा संविधान उल्टिने छ ।