काठमाडौं, कात्तिक ५ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्षको चुनाव आगामी सोमबार हुने भएको छ ।
नेपाल रेफ्री संघका उपाध्यक्ष विनोद केसी र एन्फाका पूर्वमहासचिव लोकबहादुर शाहीले चुनाव रोक्न दिएको रिट निवेदनमा आज उच्च अदालत पाटनले चुनाव रोक्न नपर्ने फैसला गरेपछि आगामी सोमबार एन्फाको चुनाव हुने निश्चित भएको हो ।
उच्च अदालतले फैसला नहुन्जेल चुनावी प्रचारप्रसार नगर्न र नगराउन गत असोज १४ गते नै अन्तरिम आदेश दिएको थियो । अध्यक्ष र उपाध्यक्षका लागि असोज १४ गते अघि नै उम्मेदवारी दर्ता भइसकेको थियो । आउँदो सोमबार चुनाव हुने पक्का भएपछि अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् ।
एन्फा अध्यक्षमा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा्छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । श्रेष्ठ समूहबाट मणि कुँवर, शेर्पा समूहबाट दीपक खाती तथा पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहको स्वतन्त्र उम्मेदवारी परेको छ ।