काठमाडौँ, ५ कात्तिक । नेपाल भ्रमणमा रहेका चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’मा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे ।
नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उनले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि नेपालमा काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरेका थिए ।