काठमाडौं, ५ कार्तिक । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियातामा नेपाल १८६औं स्थानमा यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा भुटानले नेपाललाई उछिनेको हो ।
भुटान भने १० स्थान माथि उक्लदै १ सय ७९ औं रहेको छ । भुटान नेपालभन्दा ७ स्थान माथि छ ।
त्यस्तै भारत ११ स्थान माथि उक्लदै १ सय ३७ औं स्थानमा रहेको छ । अफगानिस्तान चार स्थानमाथि उक्लदै १ सय ४० स्थानमा, सात स्थान माथि उक्लिएको माल्दिभ्स १ सय ५८ औं स्थानमा, बंगलादेश तीन स्थान तल झरेर १८७ औं, श्रीलंका एक स्थान तल झरेर १ सय ९४ र पाकिस्तान तीन स्थान तल झरेर १ सय ९७ औं स्थानमा रहेका छन् ।
दक्षिण एसियाली क्षेत्रमा भने भारत शीर्ष स्थामा रहन सफल भएको छ । त्यस्तै, अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो, भुटान चौथो, नेपाल पाँचौं, बंगलादेश छैठौं, श्रीलंका सातौं र पाकिस्तान आठौं तथा अन्तिममा रहेका छन् ।
फिफा बरियाताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । एक एक स्थान सुधार गर्दै जर्मनी र ब्राजिल क्रमसः दोस्रो र तेस्रो स्थानमा आउँदा बेल्जियम र कोलम्बिया चौथो र पाँचौ स्थानमा झरेका छन् ।
चिली छैटौं स्थानमा छ भने एक स्थान सुधार गर्दै फ्रान्स सातौं, १ स्थान खस्केर पोर्चुगल आठौं र उरुग्वे नवौं स्थानमा छन् । एक स्थान सुधार गरेको स्पेन शीर्ष दशमा समावेश भएको छ ।