काठमाडौ ,५ कार्तिक ।
युरोपा लिग फुटबल अन्तरगत गएराति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सहज जित दर्ता गरेको छ ।
समूह एमा रहेको म्यानचेस्टर युनाइटेडले टर्किस क्लब फेनरवाचीलाई ४–१ ले पराजित गरेको हो । युनाइटेडका लागि यो सिजन इटालियन क्लब युभेन्टसबाट आएका पउल पोग्बाले दुई तथा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरे ।
फेनरवाचीका लागि रोविन भान पर्सीले एक गोल फर्काए । जितपछि तीन खेलबाट ६ अंकसहित युनाइटेड समूहको दोस्रो स्थानमा छ । चार अंकसहित फेनरवाची तेस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा जोर्या लुहान्स्कलाई १–० ले पराजित गरेको फेयनोर्ड गोल अन्तरका आधारमा ६ अंक सहित शीर्ष स्थानमा छ ।
यसैगरी राति नै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब साउथह्यामप्टनलाई १–० ले पराजित गरेको छ । मिलानका लागि ६७ औं मिनेटमा एन्टोनिओ क्याड्रेभले गरेको गोल नै निर्णायक बन्यो ।