काठमाण्डौ ,१ कात्तिक ।
एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको दिनदेखि नै नेपालले तयारी सुरु गरेको छ ।
यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघका अनुसार प्रमुख प्रशिक्षक ग्यातुकी कोजुले नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गरिसकेको जनाएका छन् ।
कोजुले ३० खेलाडीलाई आईतवारदेखि नै प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा सहभागी गराएका छन् ।
मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा ब्रुनाई र टिमोर लिस्टे रहेका छन् । सुरुमा बंगलादेश र पाकिस्तान यही समुहमा रहेपनि पछि दुबै देशले नाम फिर्ता लिएपछि नेपालले समुहमा दुई खेल मात्रै खेल्ने भएको हो ।
प्रतियोगिताको समुह ‘बी’ मा मकाउ, लाओस, मंगोलिया र श्रीलंका छन् ।
नेपालले आफ्नो पहिलो खेल कार्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । भने समुह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ ।
आठ टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् ।
लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनौटबाट बाहिरिइसकेका टोलीलाई एएफसीले प्रतियोगितामा सहभागी गराएको हो