काठमान्डौ,१ कात्तिक।
इंग्लिस प्रिमियर लिगमा साउथह्यामप्टनले बर्नलीलाई र वाट्फोर्डले मिडल्सबर्गलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा साउथह्यामप्टनले बर्नलीलाई ३–१ ले हराउदै विजयी भएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाममा बर्नलीको कमजोर डिफेन्सको फाइदा लिँदै साउथह्यामप्टनले तीन गोल र्गयो । उसका लागि चार्ली अस्टिनले ५२ औं मिनेटमा पहिलो गोल गरे ।
खेलको ६० औं मिनेटमा नेथन रेडमण्डले अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अस्टिनले व्यक्तिगत दोस्रो गोल गरेपछि साउथह्यामप्टनले ३–० को अग्रता लियो ।
७२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बर्नलीका लागि साम वोक्सले एक गोल फर्काए पनि हार टार्न सकेनन् । जितपछि ८ खेलबाट १२ अंक जोडेको साउथह्यामप्टन आठौं स्थानमा उक्लिएको छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा वाट्फोर्डले मिडल्सबर्गलाई १–० ले पराजित गरेको छ । ५४ औं मिनेटमा होलेबासले गरेको गोल नै वाट्फोर्डको जितमा निर्णायक बन्यो । ८ खेलबाट ११ अंक जोडेको वाट्फोर्ड १० औं स्थानमा छ ।