काठमाण्डौ , असोज ३०।
एएफसी सोलिडारिटी कप फुटबलमा नेपाल समुह ‘ए’ मा परेको छ ।
एएफसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले बंगलादेशलाई पहिलो प्रतिद्धन्दी पाएको छ ।
एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगीतामा नेपाल सहित समुह ए मा टिमोर लिस्टे, ब्रुनाई र बंगलादेश छन् ।
मलेसियामा हुने सोलिडारिटी कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग कात्तिक १७ गते खेल्नेछ । नेपालले कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ भने समुह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ ।
आठ टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् ।
लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनौटबाट बाहिरिइसकेका टोलीलाई एएफसीले प्रतियोगितामा सहभागी गराएको हो ।