दसैँको अर्थ– सामाजिक पाटो

दसैँको अर्थ– सामाजिक पाटो

  • मङ्लबार, अशोज २५, २०७३
  •  रत्न प्रजापति

  • 6.6K
    SHARES

आयआर्जन वृद्धि हुँदा अथवा व्यापार–व्यवसायमा केही फलिफाप हुँदा ‘दशैँ लाग्या छ’ भन्ने चलन अझै छ ।  त्यसैले दशैँको सामाजिक र सांस्कृतिकमात्रै होइन, आर्थिक महŒव पनि उत्तिकै देखिन्छ ।  यही मौकामा आर्थिक गतिविधिमा बढोत्तरी हुन्छ ।  दशैँमा नै मीठोमसिनो खाने र राम्रो लाउने अवसर प्राप्त हुने हुँदा अझै पनि धेरै गरिब नेपालीले दशैँलाई एउटा खुसीको अवसरको रूपमा पनि लिने गरेका छन् ।  ‘दशैँ आयो खाऊँलापिऊँला….’ भन्ने लोकोक्ति अझै पनि जीवित नै छ ।  मुलुकमा आर्थिक तथा सामाजिक विकासले फड्को मार्न सकेको भए यो लोकोक्ति एउटा किंवदन्तीको रूपमा सीमित हुनुपर्ने थियो ।

पछिल्लो सरकारी तथ्याङ्कअनुसार अझै पनि मुलुकका २१ दशमलव ६ प्रतिशत जनता गरिबीको रेखामुनिको जीवन निर्वाह गर्न विवश छन् ।  उनीहरूलाई दिनभरिको कमाइले छाक टार्न मुस्किल छ ।  राम्रो लाउने र मीठो खाने त सपनाकै कुरा भयो ।  यद्यपि ‘यावत् जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा घृतम पीवेत्’ भनेर चार्वाक दर्शनमा भनिएझैँ ऋणै गरेर भए पनि चाडपर्व मान्ने हाम्रो सामाजिक परम्पराले गर्दा एक छाक मीठो खाने जोहो सबैले गर्लान् तर त्यसको पनि चर्को मूल्य चुकाउनुपर्ने बाध्यता हाम्रो देशका धेरै जनताले भोग्दै आएका छन् ।  तब त ‘आयो दशैँ ढोल बजाइ, गयो दशैँ ऋण बोकाइ’ भन्ने लोकोक्ति छ ।  यद्यपि ‘चाडपर्व भनेकै गरिबका लागि हो’ भन्ने तथ्यलाई भने धेरै गरिब जनताले मनन गर्दै आएका छन् र घरमा पालेको एउटा कुखुरा वा खसी बेचेर पनि दशैँ मनाएकै छन् ।  अनि निधारमा रातो टीका लगाएर मान्यजनको आशिर्वाद थाप्न खुसीले रमाउँदै लर्कन लाएर हिँड्ने र पिङमा मच्चिने तिनै गरिब नेपालीले नै दशैँको सांस्कृतिक र सामाजिक महŒवलाई बचाइराखेका छन् ।  दशैँ मनाउँदा लागेको ऋणको चिन्तालाई पनि दशैँको खुसीमा रमाएर बिर्सिदिन सक्ने तिनै गरिब नेपालीले नै बुझेका छन् ,दशैँको महŒव र त तिनले जस्तै दुःखमा पनि दशैँलाई निरन्तरता दिइरहेका छन् ।
हुनेखाने वर्गलाई सधैँ दशैँजत्तिकै हुन्छ, हुँदाखाने वर्गलाई मात्रै हो दशैँ पर्खनुपर्ने ।  हुनेखानेले सधैँ मीठोमसिनो खाएकै हुन्छन् राम्रो लाएकै हुन्छन् तर पनि चाडका दिनमा एक छाक मीठोमसिनो खाएर र एक आङ राम्रो लाएर तिनै गरिब नेपाली जनताले चाडपर्व र संस्कृतिलाई बचाउँदै आएका छन् ।  बरु हुनेखानेले आफ्नो संस्कृतिलाई बिर्सदै गएका छन् र आयातित संस्कृतिलाई अँगालेर आफ्नो मौलिक संस्कृतिलाई ओझेलमा पारेका छन् ।  गरिब जनताले थोरै कमाइले दैनिक छाक टार्ने कि चाडपर्वका लागि जोहो गर्ने भन्ने समस्या छ ।  राज्यले धनी गरिब सबैलाई आर्थिक अवसरको समान वितरण गर्न नसक्दा त्यस्तो अवसरबाट वञ्चित अधिकांश जनताको जीवनस्तर कहालीलाग्दो छ ।  त्यस्तो परिवारमा दशैँजस्तो ठूलो चाडपर्व आउँदा एक प्रकारको तनाव हुन्छ ।  तनावले जीवनलाई समाप्त पार्नुपर्ने घटनासमेत भएका छन् ।  राज्यले त्यस्तो घटना हुन नदिन आर्थिक अवसरलाई न्यायोचित रूपमा वितरण गर्नुपर्छ र हुँदाखानेलाई पनि हुनेखाने बन्ने अवसर प्रदान गर्नुपर्छ ।  अनि मात्रै संस्कृति र परम्पराको जगेर्नासँगसँगै समावेशी विकासको अवधारणाले मूर्तरूप लिनसक्छ ।  समाजमा हुनेखाने र हुँदाखाने वर्गको विभेद रहुञ्जेल समावेशी विकासको परिकल्पना नै गर्न सकिँदैन ।
दशैँकै अवसरमा आपूर्ति न्यून र माग उच्च भइदिँदा बजारमा वस्तुको मूल्यवृद्धि पनि हुन्छ ।  त्यस्तो मूल्यवृद्धिको सबैभन्दा बढी असर पनि तिनै हुँदाखाने वर्गलाई नै पर्छ ।  सरकारको अनुगमन निकाय निष्प्रभावी बनिदिँदा बजारमा मनपरी मूल्यवृद्धि हुन्छ ।  त्यसको मारले हुँदाखाने वर्गको क्रयशक्ति थप कमजोर हुन्छ ।  यसरी अप्रत्यक्ष रूपमा दशैँको आर्थिक लाभ व्यापारीवर्गले मात्रै प्राप्त गर्छन् र दशैँ पनि उनीहरूलाई नै बढी लाग्छ ।  सर्वसाधारणमा पनि हुनेखानेलाई सबैभन्दा पहिला दशैँ लाग्छ, त्यसपछि मात्रै अरूलाई लाग्छ ।  सरसामानको जोहो गर्न र लत्ताकपडा किन्न सहरबजारका सपिङ मलमा हुनेखानेको भीड लाग्दा हुँदाखाने चाहिँ बल्ल दशैँ मान्नका लागि सकेको जोहो गर्ने तर्खरमा हुन्छन् ।  हातहातमा लत्ताकपडा र सरसामानका पोका बोकेर रमाउँदै हिँड्ने हुनेखाने परिवारका सदस्यले त्यही सपिङ मल वरिपरि अथवा बाटोमा नाङ्लो पसल थापेर बस्ने, काँक्रो बेचेर बस्ने, भारी बोक्ने, रिक्सा चलाउने, ठेलगाडा ठेल्नेलाई गिज्याएजस्तो हुन्छ ।  उनीहरूले आफूलाई निकै सानो, पुड्को र दुःखी महसुस गर्छन् ।  अरूका खुसीलाई टुलुटुलु हेरेर आफ्नो खुसीलाई सपनामा सीमित पार्न बाध्य हुन्छन् गरिब ।  जसलाई दिनहुँ ज्यालामजदुरी गरेर ज्यान पाल्नुपरेको छ, उसलाई के दशैँ के तिहार ? दशैँलाई दशाको पर्यायको रूपमा लिने यस्ता जनतालाई साँच्चिकै रमाउँदै दशैँ मनाउने अवसर प्रदान गर्नका लागि राज्यले अब मुलुकको आर्थिक तथा सामाजिक अवस्थामा आमूल परिवर्तन ल्याउन साँच्चिकै ‘आर्थिक क्रान्ति’ नै गर्नुपर्ने अवस्था छ ।  यसका लागि उपयुक्त आर्थिक नीतिहरूको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नु र आर्थिक समृद्धिमा जोड दिनु जरुरी छ ।  साथै गरिबसँग प्रत्यक्ष सरोकार राख्ने स्वरोजगार कोष र गरिबी निवारण कोषजस्ता राज्यका निकायको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउनुपर्ने छ ।  किनभने हुँदाखाने वर्गलाई स्वरोजगार बनाएर उनीहरूलाई गरिबीबाट मुक्त गर्नसके मात्रै दशैँजस्ता ठूला चाडपर्वका बेला कोही सुखी र कोही दुःखी हुने अवस्था रहँदैन र कसैले कसैसामु सानो, पुड्को र दुःखी महसुस गर्नुपर्दैन ।  अनि अरूले नयाँनयाँ लुगा लगाएर रमाएको देखेर केटाकेटीले रोइलो र गृहिणीकोे गनगनबाट तनावले रन्थनिएर हिँड्नुपर्ने दिनको पनि अन्त्य हुनेछ र कसैले पनि दशैँ आउँदा दशा आएको अनुभूतिले निराश हुनुपर्ने छैन ।
हुँदाखाने जनताले दुःखम्सुखम् दशैँका लागि सकेको जोहो गरिरहँदा हुनेखानेका घरघरमा दशैँको उपहार टक्र्याउनेको ताँती लाग्छ ।  रक्सीका बोतलदेखि महँगा सारीका थान र पहाडबाट झिकाएको खसीदेखि विदेशबाट मगाएका गरगहनासम्म बोकेर ठेकेदार र व्यापारी तिनै हुनेखाने शक्तिवालका घरघरमा चाकरी बजाउन पुग्छन् तर त्यसको मूल्य पनि उनै हुँदाखाने वर्गले नै चुकाउनुपर्छ ।  सरकार अरूकै इशारा र व्यक्तिगत स्वार्थमा चल्दा हुँदाखाने वर्ग कहिल्यै हुनेखाने वर्गमा परिणत हुन नसेकेको अवस्थाबाट कोही अनभिज्ञ छैनन् ।  थुप्रै स्रोत र सम्पदाले धनी मुलुकलाई राजनीतिक गैरजिम्मेवारी र अकर्मण्यताले गरिब बनाइराखेको छ ।  त्यसैले वर्षमा एक पटक आउने दशैँजस्तो ठूलो चाडमा पनि नेपाली जनता मन फुकाएर रमाउन सकिरहेका छैनन् ।  पोहोरसालको भूकम्प पीडितलाई पुनर्निर्माणमा भएको अति विलम्बले थप पीडा र निरासा बढ्दै गएको छ ।  सरकारको कार्यशैली किन यति सुस्त छ, जनताले बुझ्न सकेका छैनन् ।  के जनताको नाउँमा राजनीति गर्नेले जनतालाई बिर्सेकै हुन् ?
हुँदाखानेका घरमा दशैँका लागि मुस्किलले केही वस्तुको जोहो हुँदै गर्दा हुनेखानेका घरपरिवारमा फजुल खर्च ह्वात्तै बढ्ने गरेको छ ।  त्यसरी हुने फजुल खर्चले थुप्रै गरिबको कल्याण हुनसक्ने कुरामा कसैले ध्यान दिएका छैनन् ।  सरकारले पनि यस विषयमा केही सोचेको छैन ।  बलियाले कमजोरलाई उठाउन सहयोग गर्नुपर्छ भन्ने सामाजिक सोचको अझै राम्रो विकास हुन सकेको छैन ।  हुनेखानेको घरपरिवारमा बग्ने मदिराको खोलोलाई अलिकति कम गरेर थोरैमात्र रकम सामाजिक हितलाई सोचेर हुँदाखानेका गाउँठाउँमा प्रयोग गर्न सकियो भने त्यहाँ खानेपानीको व्यवस्था हुन सक्छ ।  यस्तो सामाजिक हितको कार्य गर्न हुनेखानेलाई दुर्गा भवानीले सद्बुद्धि दिऊन् ।  गोरखापत्रबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी