आज अक्टोबर २, दशौँ विश्व अहिंसा दिवस । अहिंसाका पुजारी महात्मा गान्धीको जन्म दिन । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ । अहिंसा आन्दोलनका प्रवर्तक गान्धीको योगदानको कदरका लागि यो दिवस अक्टोबर २ मा मनाउन सुरु गरिएको हो । अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा भनिएको छ– “शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ । अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ । ” महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।
महात्मा गान्धीले अहिंसात्मक दर्शन प्रसिद्ध रुसी लेखक लिओ टल्सटायबाट प्रभावित भएर विकास गर्नुभएको थियो । गान्धीले भन्नुभएको थियो– “मेरो जीवनमा यस्ता धेरै अवस्था आए जुन बेला म मर्न तयार भएँ तर मेरो जीवनमा एउटा पनि त्यस्तो घटना छैन जुन बेला म अरूलाई मार्न तयार हुँ । ’ गान्धीले जीवनमा कसैमाथि हिंसा गर्नुभएन । तर उहाँको अन्त्य भने हिंसाबाटै भयो । अहिंसाका पूजारीको अन्त्य हिंसाबाट हुनु यो एउटा संयोग मात्र थियो कि अरूमाथि हिंसा नगर्ने बरु आफू मर्न तयार हुने भन्ने गान्धी सिद्धान्तको थप पुष्टि थियो यसको बहस निरन्तर चलिरहनेछ ।
अहिंसा के हो ? यो जटिल विषय छ । नेपालमै जन्मेका शान्तिका अग्रदूत गौतम बुद्धदेखि महात्मा गान्धीका अहिंसात्मक आन्दोलन र पछिल्लो समय संयुक्त राष्ट्र सङ्घद्वारा प्रवद्र्धित अहिंसासम्म आइपुग्दा अहिंसाका आयाममा ठूलो परिवर्तन आइसकेको छ । बुद्धले कुनै पनि जीवमाथि हिंसा नगर्नू भन्नुभएको थियो । जैन धर्मले “अहिंसा परमो धर्मो” भन्दै अहिंसालाई नै सबैभन्दा ठूलो धर्मको रूपमा व्याख्या ग¥यो । गान्धी निरपेक्ष हिंसाको पक्षमा रहनुभयोे । त्यसैले त उहाँ हिंसाबाट मर्न तयार हुनुभयो तर कुनै पनि मूल्यमा हिंसा गर्न तयार हुनुभएन । चाहे दुर्जनले नै किन नहोस् आफ्नो गालामा एक थप्पड हाने अर्को गाला पनि थापिदेऊ भन्ने बुद्ध र गान्धीका सिद्धान्त थिए । बुद्ध र गान्धीले हरेक परिस्थितिमा अहिंसा र सत्यको पालना गर्नुभयो र अरूलाई पनि पालना गर्न अभिप्रेरित गर्नुभयो । अहिंसा भनेको हिंसाको अभावको अवस्था मात्र हो हिंसाको अन्त्य होइन, बरु हिंसाको अन्त्य त प्रेम हो भन्दै ओशोले अहिंसालाई प्रेमसँग जोड्नुभयो । संयुक्त राष्ट्र सङ्घद्वारा प्रवद्र्धित अहिंसा भनेको चाहिँ हिंसा नहुनु भन्ने हो । यसलाई भौतिकवादी अहिंसात्मक अवस्थासँग तुलना गर्न सकिन्छ । हिंसारहित समाज हुनु नै अहिंसा हो । हरेक समाज हिंसारहित हुनुपर्छ भन्ने मान्यता वर्तमानमा विकास भएको छ ।
त्यसो त अहिंसाको पक्षमा जति तर्क छ, हिंसाको पक्षमा पनि त्यत्ति नै लामो तर्क छ । इतिहासका विभिन्न कालखण्डमा परिवर्तनका क्रममा ठूलठूला हिंसा भएका छन् । इतिहासका तिनै हिंसाको फेहरिस्त दिँदै हिंसा विना परिवर्तन हुन्न भन्ने मत पनि अझै पनि प्रबल छ । दुर्गुणमाथिको हिंसा रोक्दा सद्गुणको अन्त्य हुने हुँदा सद्गुणको संरक्षणका लागि दुर्गुणमाथि हिंसा गर्न पनि तयार हुनुपर्छ र हिंसाले समाज परिवर्तन हुन्छ भन्ने मत खासगरी भौतिक क्रान्तिबाट समाज परिवर्तन गर्न चाहनेहरूको देखिन्छ । तथापि विश्वमा साम्यवाद ओरालो लागेसँगै यो मत कमजोर हुँदैछ । र अहिंसात्मक अभियान बलियो हुँदै छ ।
अहिंसाको पक्ष बलियो हुँदै गए पनि विश्वबाट हिंसाको पूर्ण अन्त्य भने हुन सकेको छैन । विश्वमा हिंसाको अन्त्य हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरूको सम्बोधन हुन नसक्नु हो । विश्वमा हिंसा रोक्न जे जति प्रयास भएका छन् ती हिंसाकै बलमा भएका छन् । हिंसालाई हिंसाले रोक्न सकिन्न । हिंसाको औषधि प्रतिहिंसा होइन । हिंसा रोक्ने ठूलो हतियार अहिंसा हो । अहिंसामा जति ठूलो शक्ति कुनै पनि हतियारमा छैन । भारतीय स्वतन्त्रता सङ्ग्राममा हतियारले सुसज्जित ब्रिटिस साम्राज्य गान्धीको अहिंसात्मक आन्दोलनका अगाडि पराजित हुनुले नै अहिंसा कति ठूलो हतियार हो भन्ने कुरा प्रस्ट हुन्छ ।
विश्वव्यापीकरणले गर्दा एक ठाउँ वा देशको हिंसाको असर विश्वमा नै पर्ने भएकाले पनि आज विश्वको ध्यान हिंसाको न्यूनीकरण र अहिंसात्मक समाज स्थापनामा केन्द्रित छ । राष्ट्र सङ्घ, विश्व समुदाय, गैरसरकारी संस्थाहरू यसमा लागिपरेका छन् । तर सम्पूर्ण विश्वले शान्ति स्थापनाको प्रयास गर्दागर्दै पनि विश्व अपेक्षाकृत हिंसारहित भने हुन सकेको छैन । प्रथम र दोस्रो विश्व युद्धको विभीषिका पुनः नदोरियोस् भनी संयुक्त राष्ट्र सङ्घको स्थापना भए पनि अझै तेस्रो विश्वयुद्धको सम्भावना टरेको छैन । विश्वका महाशक्ति राष्ट्रहरूबीच अहिले पनि अघोषित युद्ध जारी छ । सीमा विवाद कायम छ । कतिपय मुलुकमा आन्तरिक सत्ता सङ्घर्षहरू चलिरहेका छन् । आणविक अस्त्र परीक्षणको होडबाजीले अहिंसा आन्दोलनलाई चुनौती दिइरहेको छ । आतङ्कवादले पनि विश्वलाई बेलाबेला हिंसात्मक बनाइरहेको छ ।
संसार नै अहिले हिंसा र अहिंसाको दोसाँधमा छ । एकातिर अहिंसाको बहस छ अर्कातिर हिंसाको स्थिति छ । हिंसालाई कम गर्न र अहिंसालाई प्रवद्र्धन गर्न विश्व नै लागिपरेको छ । तर सार्थक हुन सकिरहेको छैन । मुखले अहिंसा भन्ने तर बगलीमा छुरा राखेर हिंसा गर्ने प्रवृत्ति नै हिंसा न्यूनीकरण हुन नसक्नुको प्रमुख कारण हो । मान्छेले मान्छेमाथि हिंसात्मक गतिविधि गर्ने काम शोभनीय नहुने पाठ मान्छेले मान्छेलाई सिकाउनुपर्ने स्थिति छ ।
युद्ध नै अहिंसाको लागि सबैभन्दा ठूलो शत्रु र अवरोध हो । हिंसाको आरम्भ नहुनु र अन्त्य हुुनुबाट नै अहिंसाको सुरुवात हुन्छ । न्यायको उपस्थिति र सामाजिक न्यायको प्रत्याभूति अहिंसाका लागि आवश्यक छ । अहिंसा पैसाले किन्न पाइने विषय होइन । अहिंसा भनेको त संस्कृति हो, अहिंसा आत्मशुद्धि हो । अहिंसा खोज्न अन्त जानु पर्दैन । अहिंसा सबैभन्दा पहिले आफ्नै मनमस्तिष्कमा हुनुपर्छ । त्यसैले हरेक मानवले मन मस्तिष्कबाट हिंसा हटाई अहिंसालाई स्थान दिन सके मात्र समाज हिंसारहित बन्छ ।
नेपाल जस्तो हिंसात्मक द्वन्द्व भइसकेको मुलुकमा अहिंसात्मक आन्दोलन अति नै महìवपूर्ण छ । पुनः हिंसात्मक द्वन्द्व नहोस् भन्नका लागि हामी सतर्क हुनु आवश्यक छ । १७ हजार जनाको ज्यान जाने गरी भएको विगतको हिंसात्मक द्वन्द्वको घाउ अझैँ बाँकी छ । यो घाउमा खाटा बसाउन हिंसा हुनुका कारणहरूको पहिचान गर्दै त्यसको सम्बोधन गर्ने र हिंसा पीडितको घाउमा मलम लगाउनु जरुरी छ । तर अहिले हिंसा हुनुका कारणहरूको सम्बोधनतिर त्यति ध्यान जान सकेको देखिँदैन ।
हिंसाले मानव सभ्यताको इतिहासलाई कलङ्कित बनाउने मात्र होइन मानव जीवनको सौन्दर्यलाई समेत नष्ट पार्दछ । यसले मानव मानवबीच दूरी बढाउने मात्र होइन मानव सभ्यताको इतिहासलाई नै अवरुद्ध बनाउँछ । मानवलाई उज्यालोबाट अँध्यारोतिर लैजान्छ । अहिंसा उज्यालो र हिंसा अँध्यारोको प्रतिबिम्ब हो । हिंसा अज्ञानताको प्रतीक हो भने अहिंसा ज्ञानको प्रतीक हो । हिंसामा संलग्न मान्छे अन्धकारको यात्री झैँ हुन्छ । जसको कुनै गन्तव्य हुँदैन । किनकि हिंसाले कुनै गन्तव्यमा पु¥याउँदैन । त्यसैले आफूमा हिंसा हटाऊँ, समाजमा हिंसा हटाऊँ, देशमा हिंसा हटाऊँ, विश्वबाटै हिंसा हटाऊँ र हिंसारहित विश्वको निर्माण गरौँ । गोरखापत्रबाट