काठमाण्डौ ,४ असोज ।
शिक्षा क्षेत्रसंग सम्बन्धित तीन संस्थाले बालबालिकालाई त्रसित गर्ने आतंककारी कार्य नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाउदै सुरक्षामा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन, उच्च माध्यमिक विद्यालय संघ हिसान र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सनले आज संयुक्त पत्रकार सम्मेलन गरी शैक्षिक क्षेत्रलाइ त्रसित बनाउने खालका घटना रोक्न सरकारसँग आग्रह गरेका हुन् ।
आज बिहान राजधानीका बिभिन्न बिद्यालयमा भएको बम बिष्फोट र बम भेटीएको घटनाको पनि उनीहरुले भत्सना गरेका छन् ।
पत्रकार सम्मेलनपछि वितरित विज्ञप्तीमार्फत ती संगठनले राजनीतिक दलकै आवरणमा भएको जघन्य घटनाले राज्यको सुरक्षा संयन्त्रलाई समेत चुनौति दिएको पनि उल्लेख गरेका छन् ।
विज्ञप्तिमा आफ्ना निहित स्वार्थ पूर्तिका लागि विद्यालयमा गरिएको बम विस्फोट, आक्रमण, आगजनी, तोडफोडमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कठघरामा उभ्याइ कडा भन्दा कडा कारवाही गर्न र यथोचित क्षतिपूर्ति दिन माग गरिएको छ ।
उनीहरुले बाँच्न र पढ्न पाउने अधिकारको सुनिश्चिता गर्दै भयरहित तवरले विद्यालय संचालन हुने सुरक्षित वातावरण सृजनाका लागि पहल गरिदिन सरकार, सम्बन्धित निकाय, नागरिक समाज, राष्ट्रिय–अन्र्तराष्ट्रिय मानव अधिकार संघ संस्था लगायतलाई अपिल समेत गरेका छन् ।