काठमान्डौ भदौ १९ ।
आज हरितालिका तिज, हिन्दू नारीहरुले निराहर व्रत बसी हर्षाेल्लासका साथ मनाउदै छन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा अविवाहित महिलाले योग्य पति पाउँ भन्ने कामनासहित र विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु, प्रगति र परिवारमा सुख शान्तिको कामना गर्दै ब्रत बस्ने प्रचलन छ ।
आज दिनभरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
हरेक भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरुको काठमान्डौ उपत्याकाको पशुपति मन्दिर सहित मुलुकभरका शिव मन्दिरहरुमा विहानै देखि घुँइचो लागेको छ ।
यस्तै दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको बिहानैदेखि घुँइचो लागेको छ ।
यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्षभरीका पीडा पोख्दै गीत गाउने नाच्ने र रमाइलो गर्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।
यसैबीच हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका हिन्दु नारीहरुलाई सुख, शान्ति, समृद्धि, आपसी एकता कायम होस् भनी शुभकामना व्यक्त गर्नु भएको छ ।