काठमाडौं, भदौ १८ ।
बागमती सफाइ महाअभियानको १७३ औँ हप्ता आज पनि टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी ११ मेट्रिक टन फोहर निकालिएको छ ।
निजामती कर्मचारी दिवसको उपलक्ष्यमा आजको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा पाँच सय कर्मचारीको सहभागिता थियो ।
पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा सञ्जय शर्मा, रहेको थियो ।
सफाइका क्रममा मुख्यसचिव सुवेदी नेतृत्वको समूहले टेकुवरपरका घर घरमा छिरेर नदीमा फोहर नफालौँ, बागमती सफाइमा सबै सहभागी बनौँ भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गर्नुभएको थियो ।
यसैगरी रुद्रमती सफाइको १३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाइ गरी चार मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ ।
विष्णुमती सफाइको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाइ गरी दुई मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।
नख्खु खोला सफाइ गर्दै आएको नख्खु खोला सरोकार समितिले आज कार्यविनायक नगरपालिकामा जनचेतनामूलक जागरण अभियान सञ्चालन गरेको संयोजक बलु पाण्डेले बताउनुभयो ।
बागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको बागमती नदी किनारमा आज कपूर, बेल, निम लगायत जातका १०० वृक्ष रोपण गरेको छ ।
वृक्ष रोपणमा पूर्वमन्त्री अग्नि खरेल लगायत स्थानीयवासीको सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिनुभयो ।
गुह्येश्वरमाथिको बागमती नदी किनारमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकालबारी टोल सुधार समितिलगायतका संस्थाले सफाइ गरेका छन् ।