हिन्दु नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीजमा भगवान् शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । हिन्दु महिलाले स्वतन्त्र र आनन्दमय रूपमा मनाउने तीज अचेल अन्य धर्म र समुदायका महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्, जुन सामाजिक सद्भाव र मेलमिलापको अनुपम नमूना हो । तीजको अघिल्लो दिन खाइने दरले भोलिपल्ट ब्रतालु महिलालाई दिनभर ऊर्जा दिइरहन्छ तर के र कति खाने भन्ने नियम पनि छ । पाचनप्रक्रियालाई ध्यान दिएर होला सात्विक भोजनका साथै अन्तिममा दही केरा र पेडा खाने प्रचलन छ ।
धर्म र संस्कृतिको रूपमा परम्परागत मूल्य र मान्यताको आधारमा तीज पर्व मानिँदै आएको छ । हिन्दु महिलाका लागि यो पर्व श्रीमान्सँगको सम्बन्ध सुमधुर बनाउन, पारिवारिक मेल बढाउन र साथीसङ्गी इष्टमित्रसँग भेट, सामाजिक सद्भाव र मेलमिलाप बढाउन एउटा माध्यमको रूपमा विकसित भएको पाइन्छ । अहिले टोल छिमेकमा महिला क्रमशः सङ्गठित हुँदै गएका छन् । काठमाडौँ त्यसै पनि सबै समुदायको मिश्रित शहर । सबै समुदायको प्रतिनिधित्व छ काठमाडौँमा । तराईको छठ होस् वा गौरा पर्व, विविध आदिवासी, जनजातिका विविध पर्व वा नेवारहरूका इन्द्रजात्रा लगायतका पर्व आ–आफ्नो धर्म संस्कृति र मूल्य मान्यतामा विभिन्न पर्व स्वःस्फूर्त रूपमा मनाउँछन् यहाँका बासिन्दाले । अहिलेका पुस्तामा पनि आफ्नो पहिचान रहेको धर्म संस्कृतिमाथि निकै गर्व र मौलिकताप्रति चासो बढेको देखिनु मानव विकास र आत्मसम्मानको दृष्टिले राम्रो कुरा हो ।
हिन्दु धर्मसंस्कार अनुसार पार्वतीले शिवजीलाई वर पाउँ भनी ब्रत बसेको वर्णन स्वस्थानीको ब्रतकथामा उल्लेख छ । हिमालय पुत्री पार्वतीले आफूले चाहेकोे वर पाउन कठोर तपस्या गरेको प्रसङ्गलाई तत्कालीन महिलाले आफ्नो शरीरमाथिको अधिकारलाई अनुभूति गरेको प्रसङ्गका रूपमा लिँदा कसो होला ? अथवा महिलाका मानवीय चाहना, भावना र आकाङ्क्षामाथि समाजको मूल्य मान्यता र अङ्कुशप्रतिको विद्रोहको रूपमा व्याख्या गर्दा कसो होला ?
हरितालिका तीजलाई हिन्दु महिलाले अत्यन्त श्रद्धापूर्वक आत्मसात् गर्दै र व्यवहारमा ग्रहण गर्दै आएका छन् । यो परम्परागत संस्कृतिप्रति पछिल्ला दिनमा तीजको पर्वबारे नकारात्मक टिप्पणीले सामाजिक सञ्जालका भित्ता रङ्गीने गरेको छ । अझ दर खाने विषयमा त दरसित दारु मिसाएर खाने गरेको प्रसङ्गले यो धर्म संस्कृतिमाथिको आस्था नै डाँवाडोल हुनथालेको विश्लेषण भइरहेको छ । हुन पनि हरेक धर्म संस्कृति र संस्कारलाई सतही रूपमा अल्पसोच, धर्म संस्कृतिको महŒव र गरिमालाई गलत व्याख्या गर्ने प्रचलन र विकृतिलाई आधुनिकतासँग जोड्ने बढ्दो प्रचलनले धर्म संस्कृतिको गरिमा र आस्थामाथि नकारात्मक असर पारेको अनुभव छ ।
मानिस आस्था र विश्वासमा बाँच्ने प्राणी हो । हरेक धर्म संस्कृति र परम्परामा आधारित मूल्य मान्यता मानिसलाई व्यवस्थित रूपमा बाँच्नका लागि बनाइएका नियम र आचारसंहिता मात्र हुन् । ब्रत बस्दैमा राम्रो श्रीमान् पाउने परिवार सुखी हुने वा आर्थिक उन्नति हुने होइन तर ब्रत बस्नुभनेको नियममा बाँधिनु हो, नैतिक रूपले । सकारात्मक कामना गर्नुले मानिसको मनोविज्ञानमा सकारात्मक ऊर्जाको विकास हुन्छ । जब सोच सकारात्मक हुन्छ, परिणाम पनि सकारात्मक नै हुने गर्छ । तसर्थ तीजको महŒवलाई मानव विकासका विविध अवयवसँग जोडेर विश्लेषण र ग्रहण गर्न आवश्यक छ ।
विगतमा महिलामाथि हुने हिंसा, विभेद, परिवार र श्रीमान्को अस्वीकार्यताको पीडा पोख्ने माध्यम थियो तीज । वर्ष दिनको वेदना माइती र साथी सङ्गीबीच पोखेर, थोरै भए पनि मीठो मसिनु खाएर नाचगान रमाइलो गरेर पीडा बिर्सने माध्यम बनेको थियो । पारिवारिक र मनोवैज्ञानिक समस्या हुँदा मनोपरामर्श गर्ने माध्यम तीज गतिलो अवसर हो ।
केही विकृति र तडक भडकलाई छोडेर तीज र दरको महŒवलाई बुझ्ने र व्यवहारमा उतार्ने संस्कारको विकास गर्न आवश्यक छ । दारु खानु वा मन लागेको पहिरनमा सजिनु मानिसको आफ्नो व्यक्तिगत चाहना हो । धर्ममा विविधता भएको हाम्रो देशमा रक्सी र मासुलाई समेत पवित्र प्रसादका रूपमा चढाइने मौलिक संस्कृतिमा आधारित धर्म संस्कार पनि छन् तर त्यसलाई कुनै अन्य धर्म संस्कृति र परम्परासँग मिसाउनाले त्यसको गरिमा र मौलिकतामा विचलन ल्याउने गर्छ । यसले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई ओझेलमा पार्ने गर्छ नै अर्कोतर्फ सामाजिक मूल्य मान्यता समेत असर पार्ने गर्छ ।
वास्तवमा समाजलाई व्यवस्थित र नियन्त्रित गर्न कुनै विश्वास, परम्परा संस्कृति तथा धर्मले एउटा बलियो संयन्त्रको रूपमा काम गरिरहेको हुन्छ । यसले समाजलाई अराजक हुनबाट जोगाउन र नैतिकवान बनाउन दृश्य–अदृश्य रूपमा नियन्त्रण गरिरहेको हुन्छ भन्ने विश्लेषण दार्शनिक गर्छन् । यो एउटा जीवन दर्शन पनि हो ।
तसर्थ तीज पर्व मान्ने र दर खाने शैलीलाई महिलाका अधिकारमुखी सवालसँग जोडेर यसप्रतिको आस्था, महत्व र गरिमालाई घटाउनेतिर नभई यसलाई परम्परागत मूल्य मान्यतालाई समयानुकूल रूपान्तरित र सहजीकरण गर्दै लान सकिन्छ ।
गोरखापत्रबाट