काठमाडौ १७ भदौ ।
कैलालीको गौरीफण्टास्थित नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग गर्दै सरोकारवालहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पुगी सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिज्ञ, सभासद सहितको टोलीले प्रधानमन्त्री समक्ष यस्तो माग गरेका हुन् ।
भेटमा उनीहरुले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकजाँच, रेलमार्ग, सडक संजाल सहित अन्तर्रा्ष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् ।
उक्त नाकालाई ७ नं प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधारा चादनीमा सुख्खा बदरगाहा निर्माण गर्न पनि आग्रह गरेको छ ।
मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासका लागि विशेष रुपमा पहल गर्नुपर्छ भन्नेमा आफ्नो ध्यान रहेको भन्दै गौरीफन्टा नाकाको स्तरबृद्धि एवम् सुख्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढाउने बताउनु भयो ।