काठमाडौं, भदौ १३ ।
व्यवस्थापिका–संसदको आजको बैठकमा अधिकांश सांसदले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र मुलुकको समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रेशमबहादुर बानियाँले पछिल्लो समय बढेको सवारी दुर्घटनालाई कम गर्न सडकलाई व्यवस्थित गरि सवारीचालक अनुमतिपत्र वितरण व्यवस्थालाई समयसापेक्ष बनाउन माग गर्नुभयो ।
सांसद रवीन्द्र अधिकारीले सरकार गठन भएको एक महिसम्म पनि स्थानिय निकाय निर्वाचनको काम अघि नबढेको भन्दै तीनओटै तहको निर्वाचन गर्नेतर्फ सरकारको गम्भीर ध्यान जानु पर्नेमा जोड दिनुभयो ।
सांसद वाङ्दी शेर्पाले ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ती सन्चालन गर्न र जिल्ला अस्पताल तथा टेलिफोनको टावरलाई व्यवस्थित गर्न माग गर्नुभयो ।
यस्तै सांसद गीता क्षेत्रीले केही वर्षयता नेपाली भाषाको हिज्जेमा गरिएको परिवर्तनले विद्यालय र शिक्षकमा देखिएको अन्योल हटाउन आवश्यक निर्णय गर्नपर्नेमा जोड दिनुभयो ।
सांसद परशुराम तामाङले पर्यटन मन्त्रालयले बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने खादामा गरेको प्रतिबन्धप्रति आपत्ति जनाउनु भयो ।
सांसद नरसिंह चौधरीले मोहियानी हकलाई व्यवस्थित गर्न र यो वर्ष पानी कम परेका जिल्लालाई सुक्खाक्षेत्र घोषणा गर्न माग गर्नुभएको थियो ।