काठमाडौँ, भदौ १३।
पुरातत्व विभागले हालसम्म निर्माण गरिएको संरचना भत्काएर रानीपोखरी पुनःनिर्माण काम आजैदेखि रोक्न काठमाडौँ महागरपालिकालाई निर्देशन दिएको छ ।
हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन र निर्माण कार्य रोक्न निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ ।
हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले आजैदेखि निर्माण कार्यमा रोक लगाएको हो ।
यता पुनःनिर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किनु मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरुले अहिले पनि सोहीअनुरुपको सामान प्रयोग गरेको भन्दै नियम विपरीत कुनै काम नभएको दाबी गर्नुभयो ।
गत वैशाख दोस्रोसातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।
रानीपोखरी निर्माणका लागि छ करोड २९ लाखमा ठेक्का पाएकामा हालसम्म एक करोड ५० लाख खर्च भइसकेको सो कम्पनीले जनाएको छ ।