ओमजंगको बझांग विद्रोह

ओमजंगको बझांग विद्रोह

  • शनिबार, भदौ ११, २०७३
  • रतन भण्डारी

  • 22.8K
    SHARES

 

वीपी कोइराला सरकारको पालामा राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताग, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो । राज्य अदालत उन्मुलन ऐन लागू भएपछि राज्य अदालतको ठाउँमा इलाका अदालतको गठन गरिएको थियो । तर बझाङी युवराज ओमजंगले इलाका अदालतको विरोध गरेका थिए ।

   राज्य अदालत कायमै राख्नुपर्ने उनको माग थियो । इलाका अदालत गठन पछि बझांगमा न्यायाधीश उत्तमकुमार पोखरेल आएका थिए । तर बझाङ पुगेका न्यायाधीश पोखरेललाई ओमजंगले असहयोग गरेका थिए । ओमजंगले राज्य अदालतका कागजात न्यायाधीश पोखरेललाई नबुझाइ बझांग, झुटेडाको ज्यान मुद्दामा आफैँले फैसला गरेका थिए ।
त्यसपछि ओमजंगले इलाका अदालतबारे धीरबहादुर सिंह, चन्द्र ब. सिंह, बमजंग, शोभान भण्डारी, दैलु विष्ट, भुण्टु खरदार आदिसँग छलफल गरेका थिए । छलफलपछि न्यायाधीश पोखरेललाई कार्यभार सम्हाल्न नदिने निर्णयमा ओमजंग पुगेका थिए ।

ओमजंग समर्थकले न्यायाधीश पोखरेलसँग रहेका कागजात नियन्त्रणमा लिएका थिए । ओमजंगका समर्थकले कागजात लुटेपछि डोटीबाट बडाहाकिम बद्रीप्रसाद थपलिया प्रहरी तथा मिलिसियाको दलबलसहित बझाङ पुगेका थिए । बडाहाकिम थपलिया चैनपुरपारि पानकोटमा मुकाम खडा गरेर बसेपछि ओमजंग समर्थकले सरकारी अधिकारीको रसदपानी रोक्ने निर्णय गरेका थिए । साथै ओमजंग पक्षधरले बडाहामिकसमक्ष आफ्ना माग पूरा भए सहमतिमा जाने निर्णय गरेका थिए । त्यतिबेला ओमजंगका बुवा राजा रामजंगबहादुर सिंह भने बझाङ बाहिर थिए ।
२०१७ भदौ २१ गते ओमजंग समर्थकसँगै पानकोट पुगेका थिए । त्यहाँ बडाहाकिम र ओमजंगबीच छलफल कार्यक्रम तय भएको थियो ।त्यहीबेला पानकोट पुल नपुग्दै ओमजंग प्रहरीको घेराबन्दीमा परे । त्यहाँबाट ओमजंग फुत्केर भोपुर पुगेका थिए । त्यसपछि प्रहरी र ओमजंग समर्थकबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । घटनामा १५० भन्दा बढी घाइते भएका थिए । घटना पछि ओमजंग र उनका समर्थकका नाममा पक्राउ आदेश छोड्दै बडाहाकिम थपलिया डोटीतिर लागेका थिए । ओमजंगको खोजीमा प्रहरीले बझाङका गाउँबस्तीमा आतंक मच्चाएको थियो ।
घटनापछि ओमजंगले टनकपुर पुगेर सरकारसमक्ष जीवनरक्षाका लागि लागि काठमाडौँ आकाशवाणी पठाएका थिए । त्यसपछि ओमजंग र बुवा रामजंग लखनउ पुगेर आफ्ना पुर्खाले सन् १२३६ देखि बझाङमा शासन गर्दैआएको र वर्तमान शासकका वंशजले आफ्नो राज्य खोसेको बताएका थिए । लखनउ पछि रामजंग काठमाडौँ आइ पारश होटेलमा पत्रकार सम्मेलन गर्न खोजेका थिए । तर रामजंगलाई प्रहरीले उनकै निवास महाराजगंजमा बन्दी बनाएको थियो ।

पछि २०१९ असोज १७ गते दार्चुलाको मार्मा लटिनाथको ओढारमा बसेको अवस्थामा शाही सेनाका सिपाही भीमबहादुरले गोली हानी ओमजंगको हत्या गरेका थिए । शाही सेनाले पक्राउ परेका पाँच जनालाई २०१९ कात्तिक १४ गते बैतडीको कठपतेमा गोली हानी मारेको थियो ।

   कालु सिंह, भुन्टु सिंह, केशर सिंह, चाकुरे सिंह, मिपाल सिंह, जयसुर सिंह, विष्णु सिंह, राम ब योगी, नर विष्ट, जपसु सिंह, धनी सिंह, खड्गजंग सिंह, जंग सिंह, जैला पौड्याल, धन ब कठायत, रण ब खत्रीलाई बझांगबाट डोटी चलान गर्ने नाममा डोटीको झिकरानामा शाही सेनाले गोली हानी मारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी