काठमाडौ, १० भदौ ।
रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रु बाहक बस आज बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको छ । २१ जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये १९ पुरुष र तीन महिला रहेका छन् । मृतक २१ मध्ये ६ जनाको सनाखत भएको छ ।
मृत्युहुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षिय प्रमोद राम, लौकाहका ३० वर्षिय राजेश यादव, कटहरीया ९ का वृजकिशोर कुसवाह, बसन्तपुर १ का २५ वर्षिय गणेशमान साह, मुडवेलवा ६ का ३३ वर्षिय राजेशप्रसाद तथा चितरन्ज यादवको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
मृतक सबैको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा पाँच बालबालिका सहित १६ जना घाइते भएका छन् । उनीहरुको भरतपूरमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ वर्षीया वालिका स्वेता गुप्ता, ९ वर्षीय निली साह तथा ५ वर्षीय वालक प्रिन्स साहको नाम खुलेको छ भने अन्य दुइ बालबालिकाको नाम खुल्न सकेको छैन ।
त्यस्तै गौर नगरपालिका निवासी सुसन श्रीवास्तव, भारत घर भएका १८ वर्षीय रोशन गुप्ता, पोखराका निमिका थापा, बारा निजगढका २८ वर्षका रोशन गुप्ता, रौतहटका ४० वर्षीया सन्देश साह, सर्लाहीका २५ वर्षीय अविनाश चौधरी तथा धादिङ घर भएका बसका सहचालक ३० वर्षीय राजन पाण्डे घाइते भएका छन् ।
बस चालकको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । गौरबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको विन्दावासिनी ट्राभल्सको बस आज बिहान चन्डीभन्ज्याङ भन्ने स्थानबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले चालकको लापरबाहीले बस दुर्घटना भएको बताउनु भएको छ । चालक निदाउँदा वा अर्को सवारी साधनलाई ओभर टेक गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने भन्दै उहाले प्रहरीको प्रारम्भिक अध्ययनले चालकको लापरबाहीले दुर्घटना भएको देखाएको बताउनु भयो ।
घाइतेहरुको अहिले भरतपूरमा उपचार भइरहेको छ । गौरबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको विन्दावासिनी ट्राभल्सको बस आज बिहान चन्डीभन्ज्याङ भन्ने स्थानबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार आज बिहान करिब पौने ५ बजे गस्तीमा खटिएको प्रहरीले बस नदीमा तैरिरहेको अवस्थामा देखेपछि उद्धार सुरु गरेका थिए ।
बसमा करिब ३८ जना यात्रु सवार रहेको अनुमान गरिए पनि यकिन पुष्टी भने हुन बाँकी छ । घटनास्थलमा अहिले स्थानीयबासी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बस दुर्घटनामा परेकाको तत्काल उद्दार, खोजबिन तथा उपचारमा खटिन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।
दुर्घटनाको खबर पाउने बित्तिकै उहाँले प्रशासन तथा पार्टी कार्यकर्तालाई उद्दार र उपचारमा खटिन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
