काठमाडौ, १० भदौ ।
रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रु बाहक बस आज बिहान त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट हालसम्म २० जनाको शव बाहिर निकालिएको घटनास्थलमा रहनु भएका एसपी बसन्त कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते १३ जनालाई उपचारका लागि भरतपुर पठाइएको छ ।
गौरबाट पोखरा तर्फ जाँदै गरेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस आज बिहान चन्डीभन्ज्याङ भन्ने स्थानबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार आज बिहान करिब पौने ५ बजे गस्तीमा खटिएको प्रहरीले बस नदीमा तैरिरहेको अवस्थामा देखेपछि उद्धार सुरु गरेका थिए ।
बसमा करिब ३८ जना यात्रु सवार रहेको अनुमान गरिए पनि यकिन पुष्टी भने हुन बाँकी छ । घटनास्थलमा अहिले स्थानीयबासी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।