काठमाणडौ, ७ भदौ । नेपाली कांग्रेसका सांसदले १ हजार देखि १ हजार २ सय सम्मको संख्यामा स्थानीय तह बनाउनुपर्ने सुझाव पार्टी नेतृत्वलाइ दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा आज समुहगत छलफलपछि सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।
राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बसेको बैठकमा अधिकांश समुहले ५ सय ६५ वटा स्थानीय तह बनाउने पुर्नसंरचना आयोगको प्रस्ताव व्यबहारिक नभएको भन्दै दोब्बर बनाउने गरी पार्टीले धारणा बनाउनुपर्ने सुझाव दिएको सांसद रामहरि खतिवडाले बताउनुभयो ।
राज्य पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले स्थानीय तह पुनर्संरचनाबारे आयोगले तयार पारेको प्रतिवेदनबारे बैठकमा कांग्रेस सांसदलाई जानकारी गराउनुभएको थियो । ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदलाई सातै समुहमा बिभाजन गरी समुहगत छलफल भएको थियो ।
सबैका लिखित सुझावपछि सभापति शेरवहादुर देउवाले आफुलेर पार्टीले चाहेर मात्र सबैथोक हुन नसक्ने भन्दै सहमतिका लागि मध्यमार्गी विकल्प खोज्न तयार हुनुपर्ने धारणा राख्नुभयो । यसअघि हिजो सकिएको जिल्ला सभापतिको भेलामा समेत कांग्रेसले सात प्रदेशबाट छुट्टाछुट्टै सुझाव संकलन गरेको थियो ।