काठमान्डौ भदौ ५।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक मध्यान्ह १२ बजे पछि राजधानीको धुम्बाराही स्थित पार्टी कार्यालयमा बोलाइएको छ ।
गत साउन ३० गते देखि बसेको स्थायी कमिटी बैठक नेताहरुको बोल्ने क्रम लामो भए पछि लम्बिएको हो ।
बैठकमा आजबाट संगठन विस्तार तथा गठन बारे केन्द्रित हुने एमालेले जनाएको छ । सरकार परिवर्तनका कारण र पार्टीको आन्तरिक जीवन सँग जोडिएको विषयमा धारणा तय गरेपछि बैठकमा आज बाट संगठन विस्तारका सम्बन्धमा छलफल हुन लागेको हो ।
प्रदेश कमिटि र जेष्ठ कम्युनिष्ट मन्च गठन तथा सल्लाहकार कमिटी विस्तार लगायतका विषय पनि आजको बैठकको एजेण्डा रहेको पार्टी सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो । बैठकले केन्द्रिय कमिटि बैठकको मिती समेत तय गर्ने भट्टाराईले बताउनु भयो ।
यस अघि आफू नेतृत्वको सरकार टिकाउन नेतृत्वले प्रयाप्त सहयोगि भूमिका नखेलेको भन्दै नेता तथा कार्यकर्ताको आरोप माथि खण्डन गर्दै पार्टी अध्यक्ष केपी आलीले बाहिरी शक्तिको षडयन्त्रका कारण सरकार ढलेको स्पष्ट पार्नु भएको छ ।
बैठकले पार्टी भित्र देखिएको गुट उपगुट माथि प्रतिबन्ध लगाउदै आन्तरिक एकतालाई सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । त्यसका लागि एमालेले पार्टी पङक्तिलाई ६ बुदे निर्देशन जारी गरेको छ ।