५ भदौ काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादीको सत्ताले मात्र देशलाई समृद्ध बनाउने बताउनु भएके छ ।
माओवादीको सत्ता नै जनताको सत्ता हुने बताउँदै दलाल पूँजीपतिहरुको सत्ताले देश र जनतालाई सधैं पराधीन बनाइराख्ने प्रवक्ता प्रकाण्डले बताउनु भयो ।
राजधानीको संवाद डबलीमा आज क्रान्तिकारी माओवादीहरुबीच भइरहेको तीव्र ध्रुवीकरण र संघर्षको गतिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले आउँदो मंगलबार छरिएर रहेका क्रान्तिकारीहरु नेकपा माओवादीले उठाएको क्रान्तिको झण्डामुनि गोलबन्द हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
क्रान्तिकारीबीच एकता नभई ध्रुवीकरण आजको आवश्यकता रहेको भन्दै एकताले क्रान्तिकारी पार्टी भाँडमा जाने र त्यसको ठाउँमा ध्रुवीकरण महत्वपूर्ण रहेको उहाको भनाई छ ।
आउने मंगलबार कम्युष्टि क्यूक्लियस नेपालका संयोजक सुदर्शन ओली ‘हेमन्त’सहितको टोली नेकपा माओवादीमा ध्रुवीकरण हुँदैछ ।
विगतमा नेतृत्वको विचलन र आत्मसमर्णकारी चरित्रका कारण माओवादी आन्दोलन विजयको नजिक पुगेर रोकिएको प्रवक्ता प्रकाण्डले बताउनु भयो ।
‘विप्लव’को नेतृत्वमा रहेको माओवादी आन्दोलनको झण्डामुनिको गोलबन्दले मात्र नेपाली जनताको क्रान्ति सम्पन्न हुने उहाको भनाई छ ।
पत्रकार सम्मेलनमा पार्टीका पोलिट ब्यूरो सदस्य एवं उपत्यका विशेष ब्यूरोका इन्चार्ज सन्तोष बुढाले विदेशी दलालको इसारामा बनेको सरकारले जनतालाई धोका बाहेक केही दिन नसक्ने बताउनु भयो ।