काठमाडौं, भदौ ५ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै गर्नुपर्ने भएकाले अहिलेकै संरचनालाई स्थानीय तह मानेर जानुपर्ने बताउनु भएको छ ।
आजदेखि सुरु जिल्ला सभापतिहरुको छलफलमा सहभागी सभापति देउवाले स्थानीय तहमा सिमांकन गर्न थाल्दा समस्या आउने भएकाले वर्तमान संरचनालाई भत्काउन नहुने धारणा राख्नुभयो । यसबारेमा अरु दलसँग समेत छलफल गरेर निष्कर्षमा पुगिने देउवाको भनाई छ ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्लाको संरचना राख्दा जनतालाई शासनको पहुँचमा सजिलो हुने भएकाले अहिलेको जिल्ला तहलाई कायमै राख्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतले ५ सय ६५ वटा गाउँपालिका बनाउने पुनर्संरचना आयोगको प्रस्ताव पूर्ण नभएकाले स्वीकार्न नसकिने बताएका थिए ।
यसअघिको ओली सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न प्रस्ताव गर्दा कांग्रेसका शीर्ष नेताले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग गरेको थिए ।
छलफलमा सहभागी अन्य काग्रेसका नेताहरुले भने पुनरसंरचनाका बिषयमा पार्टी सभापति सहितका शिर्ष नेताको अभिब्यत्तिप्रति असन्तुष्टी जनाएका छन् ।
उनीहरुले कांग्रेसको तर्फबाट यस्तो धारणा आउँदा पार्टीको यथास्थितिवादी सोच झल्किने भन्दै चिन्ता ब्यत्त गरे ।
पार्टी केन्द्रीय पदाधिकारी र सदस्य एवं ७५ जिल्लाका सभापति सहभागि भोलिसम्म चल्ने भेलाले स्थानीय तहका बारेमा कांग्रेसको आधिकारिक धारणा तय गर्नेछ ।