काठमाडौं भदौ १ । आफूले राखेका मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले आन्दोलन सुरु गरेको छ । आज राजधानीको शान्तीवाटिकामा विरोध सभा गर्दै महासंघले आन्दोलनको सुरुवात गरेको हो ।
महासंघले गत असार २६ गते तत्कालीन श्रममन्त्री दिपक बोहोरा समक्ष विभिन्न १५ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।
उक्त ज्ञापनपत्रमा अधिकार सम्पन्न मजदुर आयोग तत्काल गठन गर्नु पर्ने, प्रत्येक संगठित तथा असंगठित मजदुरहरुको पाििश्रमिक शत प्रतिशत वृद्धि गरिनु पर्ने, मजदुरहरुको विमा सम्बन्धित कम्पनी वा प्रतिष्ठानले गर्नु पर्ने लगायतका माग राखि आन्दोलन शुरु गरेको हो ।
आज शान्तीवाटिकामा विरोध सभा गर्नु अघि महासंघले नारा जुलुस सहित अपिलपत्र वितरण प्रचार गर्दै चक्रपथ परिक्रमा गरेको थियो ।
प्रचारात्मक परिक्रमा पछि आयोजित विरोध सभामा मजदुर, कलाकार, पेशाकमी, मानवअधिकारवादी, लगायतका पेशा व्यवसायमा आवद्ध हजारौंको सहभागिता रहेको थियो ।
सभाको अध्यक्षता ग्रहण गर्दै महासंघका अध्यक्ष राम बहादुर तामाङले साशकहरु जनभावना विपरीत सोच राख्ने मात्र भएकोले जनताहरु आन्दोलित भई रहनु पर्ने बाध्यता भएको बताएका थिए ।
महासंघका महासचिव नेत्र लिम्बु र उपमहासचिव सुरेश कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त विरोधसभामा उपाध्यक्ष कुल बहादुर बस्नेत, उपमहासचिव निरज बस्नेत, बरिष्ठ सल्लाहकार जय बहादुर खत्री लगायतले आ आफ्ना धारणा राखेका थिए ।