३२ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म नेपाली कामदार अफगानस्तान पठाउन नसकिने बताउनु भएको छ ।
काबुल घटनापछि अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न बनेको सरकारी कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी नभएसम्म नेपाली कामदार पठाउन नसक्ने स्पष्ठ पार्नुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज विहान श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको टोलीले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने जनाएको छ ।
प्रतिवेदनमा सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी भए निश्चित क्षेत्रका लागि अफगानिस्तानमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।
साथै प्रधानमन्त्री दाहालले सो प्रतिबेदनबारे मन्त्रिपरिषदमा छलफल गर्ने समेत बताएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
अफगानिस्तानस्थित सयुक्त राष्ट्रसंघका कार्यालय तथा दूतावासहरुमा सुरक्षा गार्डका रुपमा नेपाली कामदार जाने गरेका छन् ।
काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानसहित चार देशमा जान रोक लगाएको छ ।