काठमाडौ ३२ साउन ।
नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको ११ महाधिवेशन अन्तरगत अहिले उमेदवारी मनोनयन दर्ता भइरहेको छ । प्रतिनिधि नामवलीमा देखिएको विवाद संस्थापन पक्ष र नेता रामचन्द्र पौडेलबीच हिजो भएको पाँच बुँदे सहमतिसँगै टुङ्गिएपछि निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढेको हो ।
निर्वाचन समितिले हिजो बिहान ८ बजेबाट सुरु गरेको मनोनयन दर्ताको समय आज बिहान ११ बजेसम्मका लागि बढाएको छ । नेतृत्व चयनका लागि मतदान भने भोली मात्र गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
हालसम्म अध्यक्ष, महामन्त्रीसहित विभिन्न पदमा चार सय ३२ जनाको उमेदवारी परेको छ । अध्यक्षमा सभापति देउवा पक्षका नेता नैन सिंश महरले प्यानल सहित उमेदवारी दिनुभएको छ ।
यस्तै शुभराम बस्नेत, नगेन्द्र सिंह ठकुरी र बचन कार्कीले पनि अध्यक्षमा आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामवलीमा छानबिन गरी फर्जि नाम खारेज गर्ने सहमति भएसँगै महाधिवेशन उद्घाटन भएको १० दिनपछि निर्वाचन प्रक्रिया सहज बनेको हो ।