काठमाडौं, २९ साउन ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाको प्रमुख आतिथ्यमा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विभिन्न समस्याका बाबजुद सामाजिक सेवामा सक्रिय भई अपराधमुक्त समाजको निर्माण गर्ने कार्यमा सहयोग गरेकोमा सामुदायिक केन्द्रलाई धन्यवाद दिँदै समाजमा घट्ने घट्नाहरू प्रहरी एक्लैले समाधान गर्न नसक्ने हुनाले समुदायसँग सहकार्य गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी सामुदायिक सेवा केन्द्रका अध्यक्षहरूले केन्द्रबाट बर्षभरी भएगरेका गतिविधी, उपलब्धी, आइपरेका समस्या तथा समाधानका उपायहरु र भावी रणनीतिका सम्बन्धमा जानकारी दिँदै सामुदायिक सेवा केन्द्रहरूले सबैसँग समन्वय गरी काम गर्नुपर्ने बताउनुभएको थियो ।
महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मिङमार लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गोविन्दप्रसाद थापा, प्राध्यापक बासुदेव त्रिपाठी, प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुखहरूको उपस्थिति रहेको थियो ।