काठमाडौं, साउन २९।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले भागबण्डा नमिल्दा राप्रपा नेपालसँगको एकिकरण बिथोलिएको बताउनु भएको छ ।
संवाद क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले दुई पार्टीबीचको एकिकरणपछिको नेतृत्वका लागी अध्यक्षको पावर शेयरिङ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको दाबी गर्नुभयो ।
राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएर नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप समेत लगाउनु भयो ।
राप्रपा नेपालसँग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताउनु भयो ।
अर्को प्रशंगमा अध्यक्ष राणाले आपूर्ति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूर्ति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूर्ति मन्त्री दिपक बोहोरालाई निर्देशन दिएको बताउनु भयो ।
भूकम्प पछिको पुनर्निमार्ण, मधेस समस्याको समाधान, कालो बजारी, घुसखोरि अन्त्य गर्दै सहज आपूर्ति व्यवस्था र संविधान कायान्वयन जस्ता विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको उहाको भनाई छ ।