पाँचथर, साउन २८ ।
राज्य पुनर्संरचना आयोगले पाँचथर जिल्लामा ५ वटामात्रै स्थानीय निकाय बनाउने प्रस्ताव गरेपछि जिल्लाका राजनीतिक दलले बिरोध जनाएका छन् ।
पाँच वटा मात्रै स्थानीय तह हुँदा जनताले राज्य पुनर्संरचनाको प्रत्याभूति गर्न नसक्ने भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।
जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर पाचथरमा कम्तिमा ७ वटा बनाउन सुझाव राख्दै आएको नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ बताउनु भयो ।
पुनर्संरचना गरिने गाउँपालिका र नगरपालिकाको नामांकन र सीमांकन गर्न जिल्ला विकास समिति पाँचथरले पटक–पटक बोलाएको बैठकमा दलका नेता र नागरिक अगुवाले ६ गाउँपालिका र १ नगरपालिका बनाउने गरी आयोगलाई ध्यानाकर्षण गराउन सुझाव दिँदै आएका छन् ।
हाल पाँचथरमा १ नगरपालिका र ३८ गाविस छन् । जिल्लाको कूल जनसंख्या १ लाख ९१ हजार छ ।
जिल्ला विकास समिति पाँचथरले स्थानीय निकायको पुनर्संरचनासम्बन्धी पटक–पटक गरेका छलफलमा जिल्लावासीले एकमत भएर गाउँ र नगरपालिकाको संख्या बढाउन प्रस्ताव गरेकाले आयोगमा ती प्रस्तावलाई जस्ताको तस्तै पठाइने स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताउनु भयो ।