काठमाण्डौ ,२८ साउन ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आगामी भदौ ११ गतेलाई आह्वान गरेको छ ।
लाजिम्पाटमा आज बसेको माओावदी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले भदौ ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौंमा हुने घोषणा भइसकेको छ । पछिल्लो पटक पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति अनुसार माओवादी केन्द्रले महाधिवेशनको तयारी थालेको हो ।
बैठकमा सहभागी नेताहरुले पुसमा महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा पुनर्विचार गर्नुपर्नेमा समेत जोड दिएका थिए । केहीले भर्खरै पार्टीको नेतृत्वमा सरकार बनेकाले तत्काल महाधिवेशनभन्दा पनि सरकारकामा पार्टीको भूमिकालाई बढी महत्व दिनुपर्ने धारणा राखेका थिए ।
महाधिवेशनका बारेमा देखिएको विवादलाई आयोजक समितिकै बैठकबाट टुंगो लगाइने भएको छ ।
आजको बैठकमा नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।