काठमाडौं, साउन २६ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्रतिनिधि छनोट विवाद समाधान भए सँगै स्थगित हुदै आएको बन्द सत्र आज बाट सुरु हुने भएको छ ।
प्रतिनिधिको विवाद मिलेसँगै गत सोमबारदेखि स्थगित महाधिवेशनको बन्दसत्र आज मध्यान्ह १२ बजेबाट सुरु हुने र निर्वाचन मार्फत नेतृत्वको टुंगो लगाउने प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भयो।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको संयोजकत्वको निर्देशन समितिले विवादित देखिएका ११ जिल्लामा बराबरको संख्यामा प्रतिनिधि चयन गराउने सहमति गरेपछि प्रतिनिधि छनोट विवाद टुंगिएको हो ।
महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन पनि आजै गरिने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार भोली उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ भने पर्सी शुक्रवार निर्वाचन हुने छ।
अध्यक्षका सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।
महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गरिने छन्।