२५ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति र मधेसीका माग संविधान संशोधन गरेर सम्बोधन गरिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गर्नुभएको छ ।
विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीय गठबन्धनसँग गरेको सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेको उहाको भनाई छ ।
प्रधानमन्त्री दाहालले आदिवासी जनजाति र मधेसी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको धारणा राख्नुभयो । उहाले नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्न्तिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गर्नुभयो ।
आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न कांग्रेसले सहयोग गर्ने उहाको भनाई छ ।
कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन् ।