२५ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन दलहरुबीच राष्ट्रिय एकता कायम गर्दै आफू क्रियाशील रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउने दिशामा आफू क्रियाशील रहेको बताउनु भयो ।
संविधान कार्यान्वयनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै उहाले राष्ट्रिय एकता कायम गर्ने भूमिका खेलिदिन पत्रकारहरुलाई समेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया पनि टुंगोमा पुग्ने चरणमा रहेको भन्दै उनले कस्ता घटनामा मेलमिलापको नीति अलवम्बन गर्ने र कस्ता घटनामा मुद्दा चलाउने भन्नेबारे छलफल जारी रहेको पनि जानकारी दिनुभयो ।
भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुको न्युनतम पारश्रमिक लागू गर्न र नयाँ सन्चार नीति कार्यान्वयनका लागि ऐन, नियम तथा संरचना बनाइदिन आग्रह गर्नुभएके थियो ।
जवाफमा प्रधानमन्त्री दाहालले आफू पत्रकारहरुको मागमा सकारात्मक भएको बताउनु भएको थियो ।