काठमाडौं, २५ साउन ।
नेपाल भ्रमणमा रहेको चाईना इन्स्टिच्युट अफ कन्टेम्पररी ईन्टरनेशनल रिलेसन्स सीआईसीआईआरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले आगामी असोजमा हुने भनिएको चीनीयाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण नरोकिने जनाएको छ ।
सीआईसीआईआरका अध्यक्ष जी झेई नेतृत्वको टोलीले राष्ट्रपति सीको नेपाल भ्रमण स्थगित् नहुने बताएको बालुवाटार स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बर्हिगमनसँगै चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण अन्यौलमा रहेको चर्चा भएको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २९ र ३० मा भारतको गोवामा हुने ब्रिक्स राष्ट्रहरुको आठौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । त्यही क्रममा राष्ट्रपति सीले नेपालसँगै बंगलादेशको पनि भ्रमण गर्ने तयारी रहेको अधिकारीहरुले बताएका छन् ।