काठमाडौ ,२४ साउन ।
साना दलका सांसदहरुले भने संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्नुको विकल्प नभएको बताएका छन् ।
नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको बैठकमा बधाइ र शुभकामना दिँदै विभिन्न साना दलका नेता र सांसदले सो आग्रह गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान कार्यान्वयन गर्न र देशलाई बचाउन तीन ठूला दल मिल्नैपर्ने बताउनु भयो ।
उहाले तीन दल नमिलेको भए संविधान नबन्ने चर्चा गर्र्दै आलोचना गर्नेबाट खुसी हुन र जयजयकार गर्नेबाट सतर्क हुन’ सुझाव दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध विकास गर्न नयाँ सरकार सक्षम हुनुपर्ने बताउनु भयो ।
नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने मधेसी मोर्चाका सांसद प्रतिपक्षमै बस्नुले तीनबुँदे सहमति सफल नहुने आशंका बढेको धारणा राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ‘नयाँ सरकारले वैदेशिक हस्तक्षेप रोक्न र प्रगतिशील कर कार्यान्वयन गर्न आवश्यक रहेको मा जोड दिनुभयो । नेकपा संयुक्तका जयदेव जोशीले गणतन्त्रलाई संस्थागत् गरी कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
नेपाल परिवार दलका मिलनकुमार राजवंशी , राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका शिवलाल थापा ,
थरुहट तराई पार्टीका गंगा चौधरी , समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह , बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान लगायतले संविधान कार्यान्वयन र महँगी नियन्त्रणमा नयाँ सरकारले काम गर्नुपर्ने बताएका थिए ।
व्यवस्थापिका–संसदको अर्काे बैठक यही साउन ३० गते आइतबार बिहान ११ बजे बस्नेछ ।