काठमाडौ २४ साउन ।
सांसदहरुले स्थानीय निकायको पुनर्संरचना आयोगको काम तत्काल रोकेर नयाँ मामदण्ड निर्धारण गर्न माग गरेका छन् ।
आजको संसद बैठकमा बोल्दै सांसदले आयोगले स्थानीय निकायको पुनर्संरचना गर्दा तय गरिएका मापदण्ड उपयुक्त नभएको बताएका हुन् । नयाँ संविधानमा व्यवस्था भएअनुसार सरकारले स्थानीय निकायको पुनर्संरचना गर्न बालानन्द पौडेलको संयोजकत्वमा आयोग बनाएको छ ।
एमाले सांसद यज्ञराज सुनुवारले जनसंख्यालाई मात्र आधार मानेर आयोगले पुनर्संरचना आयोगले काम गरेको सच्याउन माग गर्नूभएको छ ।
नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले आयोगको काम वैज्ञानिक नभएकाले सरकारले तत्तकाल हस्तक्षेप गर्नुपर्ने बताउनुभयो ।
आयोगको काम संविधानभन्दा बाहिर गएर हुन थालेको भन्दै उहाँले नयाँ मापदण्ड निर्धाण गर्न सरकारसँग माग गर्नुभयो ।
त्यस्तै फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले आयोगको प्रारम्भिक रुपमा सार्वजनिक गरेको प्रतिवेदनले नागरिको अपेक्षा पुरा नहुने दाबी गर्नुभयो ।
यसअघि बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले सरकार गठन तथा मन्त्रीमण्डल विस्तार सम्बन्धी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउनु भएकोे थियो ।