काठमाडौ २४ साउन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनःनिर्माण लगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।
मुलुकले आर्थिक समृद्धिको खाका खोजेको बताउदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा आफू रहेको बताउनु भयो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
उहाँले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई आज टेलिफोन गरी अलपत्र परेका नेपालीहरूलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिनु भएको हो ।
उहाँले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरुलाई राहतको व्यवस्था मिलाउन पनि भनेको दाहालले जानकारी दिनु भयो ।
जवाफमा परराष्ट्र सचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताउनु भएको थियो ।