काठमाडौ २३ साउन ।
नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुदैछ । आन्तरिक विवादका कारण २०६४ साल यता नेवि संघको महाधिवेशन हुन सकेको थिएन ।
महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो एक बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टी एकिकरण्पछि हुन लागेको पहिलो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
नेवि संघको नयाँ नेतृत्वका लागि नैनसिंह महर, जितजंग बस्नेत, निलकण्ठ रिजाल, मनोजमणी आचार्य शुभराम बस्नेत, दिपक भट्टाराई कुन्दनराज काफले लगायत ढेड दर्जन आकांक्षी देखिएका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले एक अध्यक्ष, १३ उपाध्यक्ष, ४ महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्षसहित एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३३ सय प्रतिनिधिको सहभागिता रहने जनाएको छ ।
लामो समयपछि महाधिवेशन हुन लागेकाले केन्द्रिय कार्यसमितिको पदाधिकारी र सदस्यको संख्या बढाउन लागेको हो । आसन्न महाधिवेशनपछि नेविसंघमा ३२ वर्ष बढी उमेरकाले प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था विधानमै राखिएको छ ।