काठमाडौं, २१ साउन । रोटरी क्लब दरबारमार्ग काठमाडौंद्वारा नेपाल प्रहरीलाई विपद् पश्चात् तत्काल आवश्यक पर्ने सामाग्रीहरु राखिएको ‘अक्वा बक्स’ हस्तान्तरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई रोटरीका डिस्ट्रिक्ट गभर्नर जया शाहले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । Humanitarian Aid for Disaster Relief Partnership Service Projeअन्तर्गत १ सय ४० वटा ‘अक्वा बक्स’हरु नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
उक्त बक्समा विपद् पश्चात् मानिसहरुलाई तत्काल् आवश्यक पर्ने पानी प्रशोधन फिल्टर, साना भाँडाकुडा, केही कपडा, बच्चाहरुका खेलौना, तारपोलिन लगायतमा सामानहरु राखिएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी पहिलो उद्धारकर्ता भएर कार्य गरिरहँदा स्रोत साधनको अभाव खड्किरहेको अवस्थामा क्लबद्धारा प्रदान गरिएका सामाग्री अति उपयोगी हुने बताउनुभयो । रोटरी क्लब पनि समाज सेवा गर्ने उद्देश्यसाथ अगाडि बढेको संस्था भएकोले यस क्षेत्रमा मिलेर काम गर्दा सहजता आउने र आगामी दिनमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर शाहले नेपाल प्रहरीसँग विगतदेखि भूकम्प लगायत विपद् व्यवस्थापनका कार्यहरुमा समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । साथै उहाँले नेपाल प्रहरीसँग सहकार्य गरेर अप्ठ्यारा ठाउँ र परिस्थितिमा समेत राहत वितरण गर्न सहज भएको बताउँदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत रोटरी क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।