२० साउन, काठमाडौं ।
नयाँ शक्ति नेपालले संविधान संसोधन मार्फत तराई मधेस र थारुवान क्षेत्रका जनताका साथै आदिवासी जनजाति, मुस्लिम, दलित समुदायको समेत मागहरु पूरा गर्न सरकारसँग माग गरेको छ ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दै नयाँ शक्तिले अबको सरकारले देशमा जारी गतिरोधको अन्त्य गर्दै मधेशी तथा जनजातीका माग संबोधन गर्न माग गरेको हो ।
पार्टी प्रवत्ता खिमलाल देवकोटाले आज विज्ञप्ती निकालेर नवनिर्वाचित प्रधानमन्त्रीलाई असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्णसमानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ ।
देवकोटाले प्रचण्डलाई भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न,भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
विज्ञप्तीमा संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी,भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकताबाट जनताले मुक्ति खोजेकोले त्यसतर्फ प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै केही समययता अन्तराष्ट्रिय सम्बन्धमा देखा परेको तिक्तताको समाधान गरी सन्तुलित परराट्र सम्बन्ध कायम गर्नुपर्ने जस्ता चुनौतीहरु वर्तमान सरकारका सामु खडा छन् ।’