काठमाडौ ,१९ साउन ।
नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुने भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्नु भएको छ ।
उहाँले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर बाहिरिनु भएको उहाका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
निवास छोडेलगतै उहाँ व्यवस्थापिका–संसद्को बैठकमा सहभागी हुन नयाँबानेश्वर पुग्नु भएको छ ।
बैठक सकिएपछि उहाँ आफ्नै निवास बालकोट फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई उहाँका समर्थकले बानेश्वरबाट स्वागत गर्दै बालकोटस्थित निवाससम्म पुर्याउने तयारी समेत गरेका छन् ।
स्वतन्त्र युवा अभियानले ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर लैजाने जनाएको छ । प्रधानमन्त्री पदमा रहँदा ओलीले राष्ट्रियता र विकासको पक्षमा काम गरेको भन्दै सम्मान गर्न लागिएको अभियानले जनाएको छ ।
ओली २०७२ साल असोज २४ गते व्यवस्थापिका संसदबाट मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।