काठमाडौ १९ साउन ।
प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज निर्वाचन हुदैछ । प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र एकल उमेदवारी परेकाले उहाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।
बिहान ११ बजे बस्ने संसद बैठकले मुलुकको ३९ औं प्रधानमन्त्री चयन गर्नेछ । प्रधानमन्त्रीका लागि एक मात्रै उम्मेदवारी परेकाले प्रस्तावको पक्ष, विपक्षमा मत विभाजन प्रक्रिया अपनाइने संसद सचिवालयले जनाएको छ ।
संसद् नियमावली अनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा हाल कायम रहेको ५ सय ९५ सदस्यको बहुमत अर्थात २ सय ९८ मत ल्याउनुपर्छ । दाहालको पक्षमा कांग्रेसको २०७, माओवादीको ८०, फोरम लोकतान्त्रिको १४, राप्रपाको १२, नेकपा संयुक्तको तीन र अरु साना दलको समर्थन छ ।
यसअघि दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले सहमति बाँडिएको भन्दै विपक्षमा मतदान गर्ने बताएको छ । यस्तै राप्रपा नेपालले पनि दाहालको पक्ष या विपक्षमा मत दिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।
संघीय गठबन्धन र राप्रपा नेपालको समेत मत प्राप्त भए दुई तिहाई पुग्ने भएकाले उनीहरुलाई सहमतिमा ल्याउन कांग्रेस र माओवादीले प्रयास गरिरहेका छन् ।