काठमान्डौ,साउन १८।
संसदीय सुनुवाई विशेष समितिले सरकारले विभिन्न २२ मुलकका लागि प्रस्ताव गरेको राजदुतहरुको सुनुवाई प्रक्रिया आज बाट सुरु गर्दैछ ।
आज बस्ने पहिलोे बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र दोस्रो बैठकबाट सुनुवाई प्रक्रिया थाल्ने समिति सदस्य अनिता परियारले जानकारी दिनुभयो । समितिले आज सुनुवाईका लागि परराष्ट्र सेवाका चार जनालाई बोलाइएको छ ।
जस अनुसार आज सुनुवाई हुने प्रस्तावित राजदुत हरुमा पाकिस्तानका लागि सिफारिस भएका परराष्ट्र सह सचिव सेवा लम्साल अधिकारी, ब्राजिलका लागि तारा प्रसाद पोखरेल, भियनास्थित राष्ट्रसंघीय कार्यालयका स्थायी प्रतिनीधि प्रकाश कुमार सुवेदी र रुसी महासंघका लागि ऋषिराम घिमिरे रहेका छन् ।
सरकारले गत वैशाखमा २२ देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि सिफारिस गरेको थियो । २२ मध्ये आठ जना परराष्ट्र सेवाबाट छन् भने बाँकी राजनीतिक भागण्डाका आधारमा सिफारिस गरिएको छ ।
परराष्ट्रका आठ अधिकृतको सुनवाइ सकेर मात्र अन्य नाममा सुनुवाइ थाल्ने निर्णय समितिले गरेको छ । यस्तै समितिले राजदूतको संसदीय सुनुवाई नभई एग्रिमो नपठाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।