काठमाडौ ,१७ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाका आधारमा सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।
यसअघि सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमामा दलहरु असफल भएपछि उहाँले आज प्रमुख दल तथा संसद सचिवालयलाई पत्र लेख्दै बहुमतीय प्रक्रियाका आधारमा सरकार गठन प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको हो ।
संविधानको धारा २९८ (२) बमोजिम सहमतीय सरकार गठनका लागी उहाँले दिएको एकसाताको समय हिजो सकिएको थियो । राष्ट्रपतिको आह्वानसँगै संसद सचिवालयले आजै प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
अपरान्ह ३ बजे बस्ने बैठकले निर्वाचन अधिकृत तोक्नुका साथै मनोनयन दर्ता, अन्तिम नामावली सार्वजनिक, मतदानको मिति निर्धारण लगायत कार्यादेश दिनेछ ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाउनु भएपछि संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नु हुनेछ ।
भोली मनोनयन सहित उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र पर्सि बुधवार प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी कार्यतालिका तय गर्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उमेद्वार बन्ने पक्का भएपनि एमाले सहितका दलले भने टुङगो लगाएका छैनन् ।