काठमाडौं, साउन १६ ।
प्रधानमन्त्रीको राजिनामापछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आह्वानको समयसीमा आज सकिँदै छ ।
राष्ट्रपति भण्डारीले यही साउन १० गते संविधानको धारा ३०५ बमोजिम बाधा अड्काऊ फुकाउ आदेश जारी गर्दै धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको थियो
तर यसबीचमा दलहरुबीच सहमति हुन सकेको छैन । आज दिनभरमा पनि दलीय सहमति कायम हुन नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सहमतीय सरकार गठनको सम्भावना न्यून भएकाले संसद्ले भोलिदेखि बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने छ । सभामुख ओनसरी घर्तीले भोलीका लागि संसद बैठक आह्वान गरिसक्नु भएको छ ।
भोलीको संसद बैठकसम्म पनि सहमतीय सरकार गठनका लागि दलहरुबीच सहमति जुट्न नसके बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।