काभ्रेपलाञ्चोक, १४ साउन ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकमा नवनिर्मित कार्यालय प्रमुख निवास भवनको शुक्रबार आयोजित समारोहबीच विधिवत उदघाटन गर्नुभयो ।
साथै प्रहरी महानिरीक्षक अर्यालले उक्त भवन निर्माणमा सहयोग पु¥याउने बनेपा नगरपालिका–५ बस्ने राजभक्त प्रधान र प्रहरी चौकी पालढुंगालाई जग्गा प्रदान गर्ने जग्गादाता पालढुंगा गाबिस–३ बस्ने रमेशबहादुर लोप्चनलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
बनेपा नगरपालिका–५ बस्ने राजभक्त प्रधानको सहयोगमा गत बैशाखदेखि निर्माण कार्य सुरु भएको ४ कोठाको उक्त नवनिर्मित भवन कुल २९ लाख २७ हजार ८ सय २८ रुपयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिएको हो ।
भवन उदघाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले सर्वसाधारण र सज्जनका लागि प्रहरी साथी हो भने गैरकानुनी कार्य गर्नेका लागि प्रहरी कठोर निकाय भएको उल्लेख गर्दै नयाँ भवन निर्माणसँगै प्रहरीका काम कारबाही, बिचार र कार्यशैली पनि नयाँ तरीकाबाट सम्पन्न हुनुपर्ने बताउनुभयो ।
नागरिकप्रति प्रहरीको सेवाभाव अझै बढाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक अर्यालले सर्वसाधारणप्रति राम्रो व्यवहार र आचरण प्रदर्शन गर्न सके मात्र अपराध न्यूनिकरण, शान्ति सुरक्षा कायम गर्नका लागि समाजबाट आवश्यक सहयोग पाउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरी लगायतका सुरक्षा निकायले बिपदको बेला उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । साथै भवन निर्माणमा सहयोग गर्नुहुने राजभक्त प्रधानले मन्तव्य ब्यक्त गर्दै भूकम्पबाट क्षतिग्रस्त भएको प्रहरीको भवन बनाउन ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुसार सहयोग गरेको जानकारी दिनुभयो ।
अञ्चल प्रहरी कार्यालय वागमतीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक केदारमान सिंह भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य तथा भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भवन उदघाटन कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थानिय सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, संचारकर्मी, शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।