धनकुटा, १३ साउन।
धनकुटाको परेवादिन गाविसको सिधुवामा आज दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
दुर्घटनामा परी पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा, धनकुटाको परेवादिन–६ की तारा बस्नेत र उनकी ३ वर्षीय छोरी रेश्मा, परेवादिन–७ धनकुटाकी अतिमाया तामाङ र धरान–२ का बेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको छ । धनकुटा बुढीमोरङ–८ का सनम तामाङको उपचारकालागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बाँकी ५ जनाको अझै परिचय खुल्न सकेको छैन ।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको धनकुटा जिल्ला अस्पताल र बाँकी ३८ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको बा२ख ७३६६ नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब ५० फिट तल खसेर दुर्घटना भएको थियो ।